सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै



सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी एकिकरणको प्रक्रियालाई अगाडी बढाउन प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेपछि बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वलगायतका विषयमा टुंगो लगाउने अपेक्षा छ ।

नेकपाको ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले र १४ तत्कालिन माओवादीले लिने सहमति यसअघि नै भइसकेकाले आजको बैठकले नामको टुंगो लगाउनु भएको हो । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ । ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने गरी १२१ सदस्य हुने गरी भागबन्डा गरिसकिएको छ ।

तीन आयोगमा दुई पूर्वएमाले एक आयोग माओवादीको परेको छ । सहमती भएका पदहरुमा को को लाई जिम्मेबारी दिने भन्ने बारेमा आजको बैठकले निर्णय गर्ने नेताहरुले बताएका छन् ।