भप्सी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अबरुद्ध



महोत्तरीको बर्दिवासस्थित भप्सी खोलामा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । बाढीले भप्सीखोलाको पुल बगाएपछि अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको भएपनि आज आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्ग ठप्प भएको हो ।

अहिले राजमार्गका दुवैतर्फ ठूलो संख्यामा सवारी लाम लागेका छन् । पानीको वहाव घटेपछि मात्रै सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ । त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पांग्रेभिरमा पहिरो झरेपछि अबरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

ठूलो पहिरो खसेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । यसैगरी काठमाडौंबाट फाखेल र सिस्नेरी हुँदै हेटौंडा जाने छोटो बाटो खुलाउन अझै समय लाग्ने भएको छ । विभिन्न ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले समय लाग्ने देखिएको सडक विभागले जनाएको छ ।

यस्तै, हेटौंडा–काठमाडौ जोड्ने कान्ति लोकपथमा पनि गाडी चल्न सकेको छैनन् । यसैबिच, संघीय संसद अन्तर्गतको सुशासन तथा राज्य व्यवस्था समितिको टोली आज तराईका बाढी प्रभावित क्षेत्र तर्फ गएको छ । समितिका दुई समूह मध्ये एउटा समूहले जनकपुरबाट र अर्को समूहले रौतहटबाट स्थलगत अवलोकन गर्न लागेको समितिकी सदस्य डा डिला संग्रौलाले जानकारी दिनुभयो ।