तल्लो मोदी जलविद्युत् आयोजना: कर्मचारीद्धारा काम बन्द गर्ने चेतावनी



तल्लो मोदी जलजविद्युत् आयोजनामा कर्मचारी स्थायी गर्ने विषयमा भएको सहमति उल्लङ्घन गर्दै व्यवस्थापनले नयाँ विज्ञापन गरेपछि कर्मचारीले आन्दोलनको घोषणा गर्दै काम बन्द गर्ने चेतावनी दिएका छन् ।

पर्वतमा निर्माणाधिन २० मेगावाट क्षमताको जलजविद्युत् आयोजनामा कर्मचारी स्थायी गर्ने विषयमा असार ९ गते दुवै पक्षबीचमा सहमति भएको थियो । सहमति विपरीत आयोजना प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले नयाँ विज्ञापन खुलाएपछि विवाद शुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालयको पहल तथा प्रतिनिधिसभाका सदस्य पदम गिरीको उपस्थितिमा आन्दोलनरत् कर्मचारी र व्यवस्थापनका बीचमा २३ पदमा विज्ञापन खुलाउने र कार्यरत कर्मचारीलाई प्राथमिकता दिने सहमति भएपछि तीन हप्तादेखि रोकिएको निर्माण कार्य सञ्चालन भएको थियो । तर मोदी इनर्जी प्रालिले बिहीबार खुलाएको विज्ञापनमा कार्यरत कामदारले आवेदन दिने पद नै नराखिएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा आयोजनाको शुरुआतदेखि नै कार्यरत कर्मचारीलाई खुल्ला प्रतिष्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कर्मचारीलाई प्रोत्साहन रकम दिने विषयमा सहमति भएको छ । आयोजनाको विद्युत् उत्पादनपछि २३ जनाको दरबन्दीमा खुल्ला विज्ञापन आह्वान गर्ने तथा ४० वर्ष नाघेका कामदारलाई एकलाख १५ हजारका दरमा प्रोत्साहन रकम दिएर बिदा गर्ने सहमति भएको थियो ।