रामेछाप- रामेछापको मन्थलीमा पोखरीका माछा अचानक मर्न थालेका छन् । मन्थली नगरपालिका–८ का माछा पालक सानोबाबु पुरीको पोखरीमा रहेका माछा अचानक मरेर पोखरी नै खाली भएको छ ।
करिब तिन रोपनी क्षेत्रफलको जग्गामा तिन वटा पोखरी निर्माण गरि माछा पालन गर्दै आएका किसान पुरीको एउटा पोखरीको माछा सबै मरेका हुन् । बिहिवार बिहान चारो दिंदासम्म सद्दे रहेका माछाहरु दिउसो भने सबै मरेको अवस्थामा भेटिएको किसान पुरीले बताए ।
“दिउसो चारो दिन जादाँ पोखरीमा रहेका ७ सय माछाहरु सबै मरेका अवस्थामा भेटिए” उनले भने “गाउँका आफ्ना बिरोधीले पोखरीमा विष हालिदिएर माछा मारिदिएको हुनसक्छन् ।”
पोखरीमा भएको ७ सय माछाहरु मर्दा ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पुरीले बताए । उनको पोखरिमा कोमनकार जातको माछा ३ महिना पहिले हालेका थिए ।