पाकिस्तानका पूर्व प्रधानमन्त्री अब्बासी भ्रष्टाचार आरोपमा पक्राउ, आज अदालतमा पेश गरिदै



पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । जवाफदेहीतासम्बन्धी त्यहाँको निकाय न्याशनल अकाउन्टेबिलिटी ब्युरोले यसअघि प्रमुख विपक्षी दल पीएमएल–एनका नेता अब्बासीलाई बयान दिन बोलाएको थियो ।

ब्युरोको १२ सदस्यीय टोलीले अब्बासीलाई पक्राउ गरेको थियो । पाकिस्तानी सञ्चार माध्यामका अनुसार उनलाईपत्रकार सम्मेलन गर्न निक्लिएका बेला गिरफ्तार गरिएको हो । शुरूमा गिरफ्तारीको विरोध गरेपनि उनले पछि आफूलाई ब्युरोका अधिकारी समक्ष समर्पण गरेका थिए । कानुनी प्रक्रिया अनुसार आज उनलाई अदालतमा पेश गरिनेछ ।

उनको सरकारले गरेको एलपीजी ग्यास सम्बन्धी एउटा सम्झौतालाई लिएर अनुसन्धान गरिएको थियो । अब्बासीले आफूले कुनै गल्ती नगरेको बताउने गरेका छन् । अघिल्लो महिना पाकिस्तानका पूर्व राष्ट्रपति र पाकिस्तान पिपुल्स पार्टीका नेता आसिफ अली जर्दारीलाई झुठ्ठा ब्याड्ड्क खाता सम्बन्धी आरोपमा गिरफ्तार गरिएको थियो ।

विपक्षीहरूले इमरान खान नेतृत्वको सरकारले भ्रष्टाचारको आरोपलाई देखाएर राजनीतिक प्रतिद्वन्द्वीहरूलाई जेल पठाइरहेको बताउदै आएका छन् । अब्बासी सन् २०१७ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री चुनिएका थिए ।