पहिलो पटक फिल्मको गीत गाउँदै आयुष



भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गर्न सफल भएका आयुष केसीले पहिलो पटक नेपाली फिल्मको गीतमा आफ्नो आवाज भर्ने भएका छन् । केही दिन अगाडि ‘स्व. वासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार’ पाएका उनले ‘नाईं नभन्नू ल’ फेम्ड चाइल्ड आर्टिस्ट अनुभव रेग्मीका लागि गीत गाउन लागेका हुन् ।

भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हजार जुनीसम्म’ मा बाल कलाकार अनुभवको अभिनय छ । आयुषले गाउने गीतको भिडियोमा उनी फिचर्ड हुने निर्देशक विकासराज आचार्यले जानकारी दिए । उनले फिल्मको टाइटल गीत ‘हजार जुनीसम्म’ मा आयुषले आवाज भर्ने बताए । उक्त गीतले आयुषलाई थप उचाइमा पुर्‍याउने उनको विश्वास छ ।

यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, शिवहरी पौडेल, प्रियंका कार्की, संचिता लुइँटेल, अनुभव रेग्मी, अखिलेस प्रधान, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । केही दिन अगाडि फिल्मको ‘आज नगद भोली उधारो’ गीत सार्वजनिक भएको थियो, जसमा आर्यनसँग हास्यकलाकार दीपाश्री निरौलाले नृत्य गरेकी छन् ।

उक्त फिल्मको ‘एमजी रोडैमा’ बोलको गीत पनि इन्टरनेट रिलिज भइसकेको छ । फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । अनुभवकी आमा कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्ममा विशाल चाम्लिङ निर्मातामा छन् ।