बाढि पहिरो पिडितको राहतका लागि क्षति विवरण सङ्कलन कार्य तीव्र पारिदै



काठमाडौँ । तराईमा बाढी र डुबानका कारण अलपत्रमा परेकाको उद्धार सकेलगत्तै राहतका लागि क्षतिको विवरण सङ्कलन अभियान सुरु भएको छ । घरबारविहीन भएकालाई शिविरमा राखेर तत्कालीन राहतसहित विवरण सङ्कलन गरिँदैछ ।

हरेक टोल, गाउँ र नगर क्षेत्रमा भएका मानवीय, भौतिक र आर्थिक क्षतिको पूर्ण विवरणको सङ्कलन सुरु भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । विपद्पछि भएको जनधनको क्षति, भौतिक संरचनाको पूर्ण क्षति, आंशिक तथा अन्य क्षतिको अवस्था यकिन गरेपछि मात्र ठोस राहत प्रदान गर्न सकिने प्रमुखहरूको भनाइ छ ।

गृह मन्त्रालयले भने स्थानीय तह, प्रदेश र केन्द्रको संयोजनमा एकद्वार प्रणालीबाट राहत वितरणको प्रक्रिया सुरु भएको जनाएको छ । जसका लागि तथ्याङ्क सङ्कलन र अद्यावधिक गर्ने काम अधिकांश क्षेत्रमा भइरहेको जानकारी प्राप्त भएको छ । स्थानीय र प्रदेशले नधानेको खर्च केन्द्रले बेहोर्ने आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो ।

सर्पको बिगबिगी

बाढी र डुबानमा परेको क्षेत्रमा यतिबेला सर्पदंशको सबैभन्दा बढी त्रास बढेको छ । त्यसैगरी स्थानीय तहबाट प्राप्त जानकारीअनुसार घरपालुवा पशुपक्षी मरेका, जमिन हिलो, चिसो, ओस बढी भएको, सफा पिउनेपानी र खाद्यान्न नहुनाले सङ्क्रमणकालीन रोग फैलन सक्ने खतरा बढेको छ ।

तराईका २५ जिल्लामा बाढी पसेर बगाउने र डुबानमा पारेको बस्तीहरूको जनजीवन अझै सामान्य बन्न समय लाग्नेछ । तथ(ापि, राहत वितरणका लागि तथ्याङ्क अद्यावधिक गर्नुपर्ने भएकाले प्रभावित नगरपालिका र गाउँपालिकाका वडाध्यक्षको नेतृत्वमा विवरण सङ्कलन थालिएको जानकारी दिइएको छ ।

क्षतिको विवरण सङ्कलन

“विपत् व्यवस्थापन समितिको बैठक बसेर जग्गा कटान, डुबान, भौतिक तथा चल सम्पत्तिको क्षतिको विवरण सङ्कलन थालेका छौँ,” उदयपुरको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले भन्नुभयो, “झन्डै ७० घर बस्नै नहुने गरी भत्केका छन्, बङ्गुर फर्म, च्याउ उद्योग, माछा पोखरी, बाख्र्रा फर्म सबै नष्ट भएका छन् । ”

एक हजार घर डुबानमा परेपछि बस्न ठाउँ नहुनेलाई शिविरमा राखिएको थियो । अझै ५० जना सामुदायिक भवनमा बसिरहेका छन् । उहाँका अनुसार त्रियुगा नदीको बाँध फुटेर र कोसीको छाल बाँधमा ठोक्किएर फर्कंदा त्यस क्षेत्रमा डुबान र बाढी पसेर क्षति पु¥याएको हो । सप्तकोसी र त्रियुगाको बीचमा १ र २ नम्बर वडा पर्छन् । त्यस क्षेत्रमा पूरै डुबान रहेकाले सर्पको बिगबिगी बढेपछि अर्को त्रास फैलिएको उहाँले बताउनुभयो । केहीलाई सर्पले टोकिसकेको छ ।

प्रमुख थापाले भन्नुभयो, “सेनाको १८ नम्बर बाहिनी र रेडक्रसको सहयोगमा सर्पदंशको उपचारसँगै मौसमी बिरामीको उपचारको व्यवस्था मिलाइएको छ, पशु उपचार क्लिनिक सञ्चालन गरी थप क्षति हुन नदिन प्रयासरत छौँ । ” मुसहर बस्तीमा सुँगुर धेरै मरेकाले थप सङ्क्रमणको खतरा बढेको छ । सुत्केरी र महिलाका लागि दुई सयभन्दा बढी ‘डिग्निटी किट’ वितरण गर्ने तयारी भइरहेको छ ।

यसैगरी भोजपुर जाने बाटो, सोमबारे मायुनटार, लालबजार जाने बाटो र रामपुर सडक लगायतका मुख्य सडक भत्केकाले समस्या आएको छ । खानेपानीका आयोजना नै भत्केकाले कतिपय स्थानमा सफा पिउने पानीको अभाव भएको थापाले बताउनुभयो ।

उदयपुरकै त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले त्रियुगामा भत्कन लागेको बाँधलाई समयमै थप बलियो बनाएकाले बढी क्षति नभएको बताउनुभयो । तैपनि करिब १६ घर बगाएकाले घरबास नहुनेलाई तत्काल राहत दिएर थप विवरण सङ्कलन भइरहेको छ । विपत् व्यवस्थापन समितिको निर्णयअनुसार राहत तोकिने उहाँले बताउनुभयो । उदयपुरको कटारी, चौदण्डीगढी नगर क्षेत्रका कतिपय स्थान डुबानमै रहेको अवस्थामा क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

धनुषामा व्यापक क्षति

धनुषाधाम नगरपालिका–५ का २५ घरपरिवार विस्थापित भएका छन् । उनीहरू विद्यालयको शरणमा छन् । नगरप्रमुख बालेश्वर मण्डलका अनुसार एउटा वडामा १४० घर अझै डुबानमै छन् । त्यहाँका बासिन्दा सामुदायिक भवनमा बसिरहेका छन् ।

“वडाले तत्काल चिउरा, दालमोठ र आवश्यक खाद्यान्न सहयोग गरेको छ, बाढी र डुबानले घरसँगै अन्न पनि बगाएको छ, त्यह(ीअनुसार विवरण सङ्कलन गरी राहत प्रदान गरिने जानकारी नगरप्रमुख
मण्डलले दिनुभयो ।

धनुषाकै सबैला नगरपालिका प्रमुख विजयशङ्कर साहले हुलाकी सडकदेखि स्थानीय सडक सबै बाढीले बगाएकाले आवतजावतमै समस्या आएको बताउनुभयो । अझै पनि ९, १०, १२ र १३ वडाका कतिपय घर डुबानमा छन् । स्थानीयले नाला र नदीका क्षेत्र पुरिदिँदा पानीको निकासमा समस्या आएको जनाएका छन् ।

धनुषाको कमला, क्षिरेश्वरनाथ, गणेशमान चारनाथ, जनकपुर, धनुषाधाम, नगराइन, मिथिला, मिथिला बिहारी, विदेह, शहीदनगर र हंसपुर नगरपालिका बाढी र डुबानमा छन् । गाउँपालिकाका धेरै क्षेत्र पनि
डुबानमै छन् ।

श्रीलङ्का टापु बेखबर

सुनसरीस्थित बराह नगरपालिकाका प्रमुख निलम खनालले कोसीको भङ्गालोबीचको श्रीलङ्का टापुमा अझै प्रशासन पुग्न नसकेको बताउनुभयो । “स्थानीय वडाले तत्कालीन राहत र खाद्यान्न दिएको छ,” उहाँले भन्नुभयो, “बाढीले घर बगाएकाहरू स्कुलमा बसिरहेको खबर पाएका छौँ । ”
कोसीको धार ठूलो भएकाले घटेपछि मात्र श्रीलङ्का टापुमा सहयोग जानेछ । अन्यत्रको डुबानको विवरण सङ्कलन भइरहेको जानकारी खनालले दिनुभयो । सप्तरीको कञ्चनपुर नगरपालिकाले हरेक वडाका वडाध्यक्षसँग भएको विवरण दिन र बाँकी सङ्कलन गर्न भनिएको नगरप्रमुख वसन्त
कुमारले बताउनुभयो ।

धेरै भूभाग जलमग्न
सिराहाका अधिकांश नगर तथा गाउँपालिका जलमग्न छन् । कल्याणपुर, गोलबजार, धनगढीमाई, मिर्चैया, लहान, सिराहा, सुखीपुर, कर्जन्हा नगरपालिका तथा अन्य गाउँपालिकामा विपत्मा परेकालाई तत्काल सहयोग जारी राखेको स्थानीय जनप्रतिनिधिले बताए ।

मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले डुबेर मृत्यु भएका दुई जनाको परिवारलाई तत्काल २०–२० हजार रुपियाँ राहत दिएको जानकारी दिनुभयो । विस्थापितलाई विद्यालयमा संरक्षण दिइएको छ । बक्राहा, जुरुवा खोला, घुर्मी, मैनाइन खोला र कमला नहरको बाढीले सदरमुकाम पनि डुबानमा छ ।

उहाँले भन्नुभयो, “प्रस्ट सङ्ख्या यकिन भएपछि थप राहत वितरण गरिने छ, प्रत्येक वडामा पाँचदेखि १० घरसम्म बाढीको चपेटामा परेको पाइएको छ । ” उहाँले खानेपानीको पाइप फुटेको, बाटो भत्केको, कटान भएकाका लागि राहत रकम जुटाउने र मृतक परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति राहत उपलब्ध गराउन छलफल चलिरहेको
जानकारी दिनुभयो ।

गाउँको हालत खराब

महोत्तरीको गौशाला, जलेश्वर, औरही, बर्दिवास, बलवा, भोगाहा, मटिहानी, मनरा सिसवा, रामगोपालपुर, लोहरपट्टि, नगरपालिका तथा अन्य गाउँपालिका सर्वत्र डुबान छन् । “सदरमुकामको यो अवस्था छ, गाउँको त झन् हालत खराब छ,” जलेश्वर नगरप्रमुख रामशङ्कर मिश्रले भन्नुभयो, “नगरका एउटा घर पनि सुक्खा छैनन् । ”

सरकारी कार्यालय पानी निकास दिँदै मङ्गलबारदेखि खुल्न थालेका छन् । रातु, बिगी, मराह, जङ्घाहा लगायतका ठाडोखोला बस्ती पसेको हो । जलेश्वरका मात्र पाँच हजार व्यक्ति विस्थापित रहेको उहाँ बताउनुहुन्छ ।

तत्कालीन राहत उपलब्ध गराउँदै थप क्षतिको विवरण सङ्कलन भइरहेको छ । उहाँले विपत् व्यवस्थापन कोषमा रहेको एक करोड रुपियाँ र नपुग प्रदेशसँग माग गरी पीडितलाई राहत दिइने उहाँले बताउनुभयो ।

चिसो घरमा फर्कंदै

सर्लाहीको ईश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार देवकोटाले ५० घर बाढीले पूर्ण क्षति भएको विवरण दिनुभयो । उठीबास लागेका धेरै घरका मानिस मङ्गलबार चिसो घरमा फर्केका छन् र वडाध्यक्षको नेतृत्वमा थप तथ्याङ्क सङ्कलन भइरहेको उहाँको भनाइ छ ।

सर्लाहीकै बाग्मती नगरपालिका प्रमुख भरतकुमार थापाले १४० घरका अलपत्र मानिस मङ्गलबार घर फर्केका छन् । उहाँका अनुसार बाग्मती नदीको बाढीले क्षति गरेका बाली, पशुचौपाया, जमिन कटानको क्षति सङ्कलनपछि ठोस राहत दिइने छ ।

सर्लाहीका बरहथवा, मलङ्गवा, लालबन्दी, हरिवन, कविलासी, गोडैटा, बलरा, हरिपुर, हरिपूर्वा नगरसमेत डुबानमा छन् । रौतहटका डुबानमा परेका विभिन्न क्षेत्रको क्षतिको विवरण सङ्कलन गर्ने क्रम जारी छ ।

दुई सय बढी विस्थापितमध्ये अब करिब ६० घरका मानिस विद्यालय, सामुदायिक भवन र मदरसामा बसिरहेका छन् । गढीमाई नगरपालिका प्रमुख श्यामप्रसाद यादवका अनुसार ८० हाराहारीको घर बाढीले ध्वस्त बनाएको छ । क्षतिको वास्तविक विवरणपछि आर्थिक राहत बाँडिने उहाँले जानकारी दिनुभयो ।