बीएण्डसीलाई प्रक्रिया पुरा गरेर सम्बन्धन दिने सरकारको निर्णय



काठमाडौं । झापाको बीएण्डसीलाई सम्वन्धन दिने विषयलाई लिएर विरोध र प्रदर्शन भएपछि सरकारले प्रक्रिया पुर गरेर सम्बन्धन दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ऐन नियमअनुसारको प्रावधान पूरा नगरेको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय भएको भन्दै नागरिक आन्दोलन हुँदै आएको थियो ।

सम्बन्धन दिन लागिएको भन्दै यसको विरोधमा बृहद् नागरिक आन्दोलनका अभियन्ताहरुले आजै प्रदर्शन गरेका थिए । स्वास्थ्य सेवा र शिक्षाका अभियन्ता डा. गोविन्द केसीले पनि सरकारले उक्त कलेजलाई सम्बन्धन दिए सत्याग्रह गर्ने घोषणा गरी प्रधानमन्त्रीलाई पठाएका थिए ।

चिकित्सा शिक्षा आयोगको शुक्रबारको बैठकले झापास्थित बीएण्डसी मेडिकल कलेलजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको हो ।

बैठकमा सहभागी प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो क्षमताअनुसार शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने भनाई राखेका थिए । उनी बाहिरिएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया पूरा गरेर सम्बन्धन दिने भनेर निर्णय लेख्न लगाएको जनाइएको छ ।