निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा काम गर्ने २५ जनाले गरे आत्महत्या



काठमाडौं । कोरोना महामारीका कारण मनोरन्जन क्षेत्र निकै प्रभावित परेको छ । गत वर्षको लकडाउनलेनै थला परेको यो क्षेत्र हालसम्म पनि ठप्पनै छ । यस्तो अवस्थामा मनोरन्जन क्षेत्रबाट जिविका चलाउनेलाई समस्या भएको  छ ।

निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूलाई आर्थिक समस्यामा  छ ।मनोरञ्जन क्षेत्र (होटेल÷रेष्टुरेन्ट÷क्लब÷दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा शुक्रबार आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको जानकारी गराइएको हो ।

उक्त संस्थाको तथ्याङ्कानुसार निषेधाज्ञामा रोजगारी गुमाएर जिविका चलाउन समस्या भएपछि २५ श्रमिकले आत्महत्या गरेका छन् । यस क्षेत्रमा आठ लाखले रोजगारी गर्छन् । कोरोनाको पहिलो चरणदेखि नै यस क्षेत्रको व्यवसाय प्रायः ठप्प छ ।

साथै यसमा संलग्न सबै रोजगारी पनि बन्द भएका छन् । विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले एक व्यक्तिको रोजगारीले कम्तीमा पाँच जनाको परिवार चलेको हुनाले करिब दुई वर्षदेखि नै रोजगारीको अवस्था नाजुक भएको कारण पछिल्लो डेढ महिनाको निषेधाज्ञाको अवधिमा २५ जना श्रमिकले आत्महत्या गरेको जानकारी दिए ।

गत वर्ष कोरोना महामारीमा रोजगारी गुम्दा मनोरञ्जन क्षेत्रका २९९ जनाले आत्महत्या गरेका थिए ।