निषेधाज्ञा खुकुलो बनाउने खाका पेश गर्न देशभरका जिल्ला प्रशासनलाई गृहको १२ बुँदे सर्कुलर



काठमाडौँ । निषेधाज्ञाका कारण बन्द व्यापार-व्यवसाय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना पेश गर्न गृह मन्त्रालयले देशभरका प्रशासनलाई परिपत्र गरेको छ ।

निषेधाज्ञालाई समीक्षा गर्दै आर्थिक कारोबार क्रमशः खुलाउदै लैजाने गरी अवधारणा ल्याउन परिपत्रमा भनिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै उक्त निर्देशन दिइएको हो ।

साथै गृह मन्त्रालयले अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित बिकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ ।

परिपत्रमा सीमा सुरक्षा र व्यवस्थापनलाई पनि कडाइका साथ पालना गर्न भनिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले मन्त्रीबाट प्राप्त निर्देशन र निर्णयलाई कार्यान्वयनका लागि सबै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई परिपत्र गरिएको बताए ।