काठमाडौं महानगरमा संचालित खोप कार्यक्रम स्थगित



काठमाडौं । काठमाडौं महानगरपालिकामा संचालन भैरहेको कोरोना विरुद्धको खोप प्रभावित भएको छ । सरकारले खोप उपलब्ध नगराउने भएपछि खोप कार्यक्रमनै स्थगित हुने भएको छ ।

काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि जारी कार्यक्रम बाध्य भएर रोक्नुपरेको बताए ।

महानगरपालिकाले गएको मंगलबारदेखि महानगरको ३२ वटै वडामा खोप कार्यक्रम संचालन गरेको हो । सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउने बताएपछि खोप लगाउने कार्यक्रम सुरु गरेका भएपनि हाल २८ हजारलाई लगाइसकेपछि थप खोप उपलब्ध गराउन नसक्ने बताएको कुँवरले बताए ।

नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोगस्वरूप उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्ष भन्दामाथि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो ।

अब खोप कार्यक्रमनै अन्योलमा परेको छ । बिहिबारसम्म करिब २८ हजार जनालाई खोप लगाएको महानगर जनाएको छ ।