कर्णालीमा नेपाल पक्षका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश



काठमाडौं । कर्णालीका माधव नेपाल पक्षका ४ प्रदेशसभा सदस्यलाई सर्वोच्च अदालतले पुर्नवहाली गर्न आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले पार्टीको ह्वीप उल्लंघन गरी फ्लोर क्रस गर्ने नेपाल पक्षका ४ साँसदलाई पुर्नवहाली गरेको हो ।

प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पुनर्बहाली भएका छन् । उनीहरुलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको हो ।

बैशाख ३ गते माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई पार्टी ह्वीप उल्लंघन गरी विश्वासको मत दिएका थिए । फ्लोर क्रस गरेपछि ज्वाला, बुढा, थापा र शाहीलाई एमालेको सिफारिसमा सभामुखले पदमुक्त गरेका थिए ।