संसद विघटन मुद्दामा बहसका लागी समय निर्धारण, दुबै पक्षले १५ घण्टा बहस गर्न पाउने



काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गर्न सर्बोच्च अदालतले समयावधी निर्धारण गरेको छ । सर्वोच्चले बहसका लागि १५ घण्टा समय निर्धारण गरेको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा बहसको समय तोकेको हो ।

रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय निर्धारण गरिएको हो । त्यस्तै विपक्षी, सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय पाउने भएका छन् ।

इजलासले यो मुद्दामा ४ जना एमिकस क्युरी (अदालतको सहयोगी) पनि माग गरेको छ । जसमा नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना माग गरिएको छ ।

यो मुद्दामा बहस गर्ने सबै कानुन व्यवसायी र एमिकस क्युरीलाई असार १० गतेसम्म बहस नोट दिन संवैधानिक इजलासले आदेश दिएको छ ।