क्यान्सर अस्पतालहरुलाई हाल यथास्थितिमा राख्न काँग्रेसको माग



काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सरकारले अध्यादेबाट ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आशंका पैदा भएको छ । त्यतिमात्रै होइन बजेटमा सरकारले ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने निती लिएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

साथै बजेटको अन्य निती र कार्यक्रमको पनि विरोध भइरहेको छ । यहीविचमा नेपाली कांग्रेसले क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राखेको आरोप लगाएको छ ।

बजेटमा भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउने घोषणा गरेको छ ।

उसले आज एक विज्ञप्ति निकालेर सरकारले बजेटमा ल्याएको क्यान्सर संस्थानको अवधारणामा ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियत रहेको आरोप काँग्रेसले लगाएको हो ।

सरकारले ल्याएको व्यवस्थामा सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारी रहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको काँग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै गम्भीर विमर्शपश्चात मात्रै उचित विकल्पको निष्कर्षमा पुग्नुपर्ने भन्दै क्यान्सर अस्पताल जस्तो संवेदनशील विषयलाई हाल यथास्थितिमा राख्न सरकारलाई चेतावनी दिएका छन् ।