पाँचथरमा आगलागीबाट घाइते वृद्धाको मृत्यु



काठमाडौं । पाँचथरमा आगलागीमा परी गम्भीर घाइते भएकी एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया चनमाया सापकोटाको उपचारको क्रममा बुधवार बिहान मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु अस्पताल प्रशासनले जनाएको छ ।

गत सोमबार साँझ ८.४० बजे ग्यास लिक भएर घरमा आगलागी हुँदा आमासहित दुई छोरा घाइते भएका थिए । पति भगीरथको किरियामा बसेकी मृतक चनमायाले पानी तताउन ग्यास बाल्ने क्रममा आगलागी भएको थियो।

आगलागीमा परी घाइते भएका वृद्धका दुई छोराहरुको भने सोही अस्पतालमा उपचार भैरहेको छ । ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटाको आधा शरीर जलेको जलेको अवस्थामा रहेको अस्पतालले जनाएको छ। उनिहरुको अवस्था हाल खतरा बाहिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएको छन् ।