ज्येष्ठ नागरिकको सम्मानका लागि उपत्यकाव्यापी कविता प्रतियोगिता



काठमाडौं । ज्येष्ठ नागरिकको सम्मानका लागि आगामी असार १ गतेदेखी कविता प्रतियोगिता गरीर्दै छ। प्रतियोगितामा उपत्यकाका विद्यालयस्तरीय विद्यार्थीहरु सहभागी हुनेछन् । राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सनले संयुक्त रुपमा प्रतियोगिता भर्चुअल माध्यमबाट गर्न लागेको हो ।

आयोजक नेशनल प्याब्सनका अध्यक्ष खड्गबहादुर बस्नेतले ज्येष्ठ नागरिकको दुव्र्यवहारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्न लागेको बताए। उनले कविता प्र्रतियोगिताले स–साना बालबालिकालाई ज्येष्ठ नागरिकप्रति सम्मान गर्नका लागि थप सहयोग पुग्ने विश्वासका लिएको पनि बताए।

कार्यक्रममा सहभागी हुने विद्यार्थीले जेठ २८ गते साँझ ४ बजेसम्म आफ्नो विद्यालयमा नाम दर्ता गरिसक्नुपर्ने नेशनल प्याब्सनका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिए। बढीमा चार मिनेटभित्र कविता सम्पन्न गर्नुपर्ने उक्त प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउनेछन् ।

प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई रु आठ हजार,दोस्रो हुनेलाई रु छ हजार, तृतीय हुनेलाई रु चार हजार र सान्त्वना चार जनालाई जनही रु एक हजार र प्रमाणपत्र प्रदान गरिने छ ।