मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने ७ सांसदलाई एमालेले सोढ्यो २४ घण्टे स्पष्टीकरण



काठमाडौं । सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने एमालेका ७ साँसदलाई स्पष्टीकरण सोधिएको छ । मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने एमालेका सात सांसदलाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

दलका नेता शाहले उनीहरु सबैलाई स्पष्टीकरण माग्दै पत्र पठाएका हुन् । पत्रमा संसदीय दलको विधान एवं दलको ह्रवीप उल्लंघन गर्नुको कारण सोधिएको छ । निर्धारित समयभित्र जवाफ नआए विधानबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

उनिहरुले विपक्षमा मतदान गरेका थिए । विपक्षमा मतदान गर्ने सांसदहरु अध्यक्ष ओली पक्षधर हुन् । एमाले संसदीय दलको निर्णय तथा ह्वीपको अवज्ञा गर्दै सांसदहरु रतन थापा, नेपालु चौधरी, लिलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहराले मुख्यमन्त्री भट्टको मतको विपक्षमा मतदान गरेका थिए ।