जसपा अध्यक्ष ठाकुरद्वारा कार्यकारिणी समितिको हस्ताक्षर बुझाउन आयोगसंग थप एकसाता समय माग



जसपाका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आयोगसंग एक हप्ता समय मागेका छन् । गत जेठ १८ गते अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई निष्कासन गरी दलको दर्ता किताबको विवरण सच्याउन आग्रह गरेका थिए ।

जेठ १८ गते अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र आयोगमा दिँदा केन्द्रीय कार्यकारिणी समितिको निर्णयको हस्ताक्षर बुझाएका थिएनन् ।

त्यसपछि निर्वाचन आयोगले १९ गते पत्र लेखेर सात दिनभित्र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा पेश गर्न आग्रह गरेको थियो । त्यससँगै आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारीको हस्ताक्षर पनि माग गरेको थियो ।

जसपा विवादसंगै दुई अध्यक्षले एकअर्कालाई कारबाही गरेका छन् । त्यसको जानकारी निर्वाचन आयोगलाई गरेका छन् ।

गत जेठ १८ गतेनै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले पनि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी दलको दर्ता किताबमा रहेको विवरण सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेका थिए । यादभ पक्षले भने केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाएको थियो ।