सल्यानमा शब बोकेको जिप दुर्घटना हुँदा ७ जना घाइते



काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । नेपालगन्जबाट शव बोकेर सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१० थापाचौर जाँदै गरेको भे १ च ३६६९ नम्बरको जिप सोमबार बिहान ४ बजेतिर आगरनेटामा दुर्घटनाग्रस्त भएको हो ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । घाइते हुनेमा चालक बन्गाड कुपिण्डे नगरपालिका ८ बाबियाचौरका २६ वर्षका बलबहादुर कुँवर, ४० वर्षका होमबहादुर गिरी, बन्गाड कुपिण्डे नगरपालिका १० थापाचौरका २१ वर्षका आइतुलाल थापा, ३२ वर्षका खोकलाल थापा, २६ वर्षकी हुर्मती थापा, २० वर्षका केशव थापा र ४५ वर्षका टोपबहादुर घर्ती छन् ।

गम्भीर घाइते भएका जिप चालक बलबहादुर कुँवर, हुर्मती थापा र आइतुलाल थापालाई उपचारका लागि नेपालगन्ज लगिएको र अन्यको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।