पदमुक्त भएका जितेन्द्र सोनल मोटरसाइकल चढेर क्वाटरबाट बाहिरिए



काठमाडौं । प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्रीबाट पदमुक्त भएका जितेन्द्र सोनलले मन्त्री क्वाटर छाडेका छन्।

आइतबार राति मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए। पदमुक्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल रहेका छन्। उनीहरु जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका हुन्।

पूर्वमन्त्री सोनलले सोमबार बिहान जनकपुरधामस्थित जनकपुर चुरोट कारखानाभित्र रहेको मधेस भवन भनेर नामाकरण गरिएको मन्त्री क्वाटर छाडेका हुन्। उनी आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता दिएर क्वाटरबाट मोटरसाइकल चढेर बाहिरिएका थिए।