ओलीले पार्टी एकताका लागि आह्वान गरेपछि नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा एमालेको पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आव्हानबारे  नेपाल पक्षले आज छलफल गर्ने भएको छ।

नेपाल–खनाल पक्षले स्थायी कमिटी सदस्य तथा पार्टीका प्रभावशाली अन्य नेताहरुसँग ओलीको आव्हानबारे छलफल गर्न लागेको हो। बिहान ११ बजे भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर आलीको प्रस्तावमाथि आधिकारिक धारणा बनाउने नेता बेदुराम भुसालले जानकारी दिए। उनले ओलीले पार्टी एकताका लागि विभिन्न सर्त राखेकाले यसमा शंका गर्नुपर्ने धेरै ठाउँ रहेको बताए।

ओलीले एकताको प्रयास गरिरहेकाहरुलाई कमिटीमा राख्ने कुरा गरेको र सर्वोच्चमा पेश गरिसकेका हस्ताक्षर फिर्ता गर्ने कुरा गरेकाले आफ्नो स्वार्थअनुकूल प्रयोगका लागि मात्रै यो प्रस्ताव आह्वान गरेको नेपाल–खनाल पक्षका नेताहरुको बुझाइ छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले  सार्वजनिक आह्वान गर्दै पार्टी कमिटीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा लैजाने बताएका थिए।

ओलीले पार्टीका केन्द्रीय सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुलाई आधारमा मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील बनाउने प्रस्ताव गरेका छन्। यसको बदलमा नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्चमा पेश रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता गर्नुपर्ने प्रस्ताव ओलीको छ।