कोभिसिल्ड लगाएकालाई दोस्रो दोज अस्ट्राजेनेकाको खोप लगाईने



काठमाडौँ । सरकारले कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनेकाको खोप दिने निर्णय भएको छ । फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई यो खोप दिन लागिएको हो ।

कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले दोस्रो मात्रा पाएका छैनन् ।

आइतबार जारी विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोपको विकल्पमा एउटै प्रकृतिको अस्ट्राजेनेकाको खोप लगाउने निर्णय भएको जनाएको छ । तर, उक्त खोप भने प्राप्त भइसकेको छैन ।

विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने बताए पनि उक्त अवधि कटिसकेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरलले यो खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने बताए । उनले खोपका लागि प्रतिक्षारत रहन अनुरोध पनि गरेका छन् ।