ओली नेतृत्वमा निष्पक्ष निर्वाचन हुन सक्दैन : शेखर कोइराला



काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले केपी ओली नेतृत्वमा निष्पक्ष निर्वाचन नहुने बताएका छन् । उनले ओली तानाशाह अधिनायकवादको हिसाबले हिँडिरहेको भन्दै उनको नेचतृत्वमा निष्पक्ष निर्वाचन हुन नसक्ने बताएका हुन् ।

नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन नगराउन सरकार पुनर्गठन गरेको आरोपसमेत लगाएका छन् । कोइराला निवासमा शनिबार पत्रकारसँगको कुराकानीमा उनले कामचलाउ सरकारले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकार पुनर्गठन गरेर गलत नजिर कायम गरेको बताएका हुन् ।

‘निर्वाचनको मिति घोषणा गरिसकेपछि सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्नु संविधान र लोकतन्त्रको बरखिलाफ हो,’ उनले भने, ‘अहिले सरकार विघटन भइसकेको र विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको अवस्थामा ओलीजीले आफूलाई बचाउन मात्रै सरकार पुनर्गठन गरेको हो या निर्वाचन नगर्नलाई यो बुझ्नु आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले आफैं चाहेर वा कोरोना महामारीले अहिले तोकेको मितिमा चुनाव नहुने प्रष्ट रहेको उनले बताए ।