संसद विघटन मुद्दा : संवैधानिक इजलास पुनर्गठन, यी हुन् न्यायाधीश



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनहरूको सुनुवाइका लागि प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाले संवैधानिक इजलास पुनर्गठन गरेका छन्। राणाले आफूसहित न्याायधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इललास बनाएका हुन्।

यसअघि १४ जेठमा गठित संवैधानिक इजलासका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे विवाद भएपछि इजलास पुनर्गठन गरिएको हो। प्रधानन्यायाधीश राणा नेतृत्वको त्यो इजलासमा श्रेष्ठ, केसीसहित दीपकुमार कार्की र आनन्दमोहन भट्टराई थिए।

गत १८ जेठमा सर्वोच्च बारले पनि प्रधानन्यायाधीशलाई भेटेरै विवादित न्यायाधीश हटाएर इजलास पुनर्गठन गर्न सुझाएको थियो। निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन्।

प्रतिनिधिसभामा आफ्नो बहुमतका आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरे लगायतले छुट्टाछुटै चार रिट निवेदन दर्ता गराएका थिए।