स्थगित परीक्षा र पठनपाठन वैकल्पिक माध्यमबाट गर्ने सुदुरपश्चिम विश्वविद्यालयको तयारी



काठमाडौं । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगित भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट सञ्चालन गरिने भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गरेको निर्णयअनुसार रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट हुने भएका हुन्।

सुदूरपश्चिम विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दबल्लभ पन्तका अनुसार स्नातक तह दोस्रो, चौथो र छैठौँ सेमेष्टरका परीक्षाहरु साउन ५ गतेबाट सञ्चालन हुनेछन् ।

उनका अनुसार स्नातक दोस्रो, चौथो र छैठौँ सत्रका विद्यार्थीलाई अघिल्लो सेमेष्टरका कक्षाहरु जेठ २५ बाट सञ्चालन हुनेछ ।

यद्यपी अवस्था सामान्य भएमा तथा नेपाल सरकारले निर्णय गरेमा कक्षा र निर्धारित परीक्षा भौतिक रुपमै सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ।

वैकल्पिक माध्यमबाट सञ्चालन हुने परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले जेठ मसान्तभित्र कार्यविधि तयार पार्ने, असार २० सम्म परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिसक्ने जनाएको छ।