बाह्य शक्तिलाई खुसी पार्न ओलीले महन्थ पक्षलाई १० मन्त्री दिएको नेता रावलको आरोप



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले वाह्य शक्तिलाई खुसी पार्न जसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएको आरोप लगाएका छन् ।

शनिबार बिहान ट्विट गर्दै रावलले वाह्य शक्तिलाई मक्ख पार्न ओलीले आफूसँग पाँच मन्त्रालय राखेर जसपाको महन्थ पक्षलाई १० मन्त्री दिएर सरकारमा सामेल गरेको टिप्पणी गरेका हुन् ।

उनले धुपबत्ती गर्नसक्ने आफ्नो ५ दिनअघिको व्यंग्यात्मक ट्विट शुक्रबार मन्त्रिमण्डल पुनर्गठन भएबाट पुष्टि भएको बताए । कामचलाउ प्रधानमन्त्रीको यो कार्य गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा भएको रावलको तर्क छ ।

साथै दुईपटक संविधान सभाको निर्वाचन गरी देश र जनताले ठूलो मूल्य चुकाएर जारी गरेको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको उनले बताए ।