मनसुन नजिकिएसँगै प्रि-मनसुन थप सक्रिय, यसपालि औसतभन्दा धेरै पानी पर्ने



काठमाडौं । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिनभरजसो नै मौसम बद्ली रहने र देशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ भने प्रदेश-१ का एक/दुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । भोलि पनि मौसम आंशिकदेखि सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने महाखाले जनाएको छ ।

पर्सिदेखि भने प्रि-मनसुन थप सक्रिय हुने र देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । मनसुन सुरु हुने समय नजिकिएकाले मौसमी गतिविधि पनि थप सक्रिय हुँदै जाने छ ।यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरिएको छ ।

नेपालमा जुन १० देखि मनसुन सक्रिय हुने गर्छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने पनि मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।