ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट



काठमाडौँ । ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ’व्यापारघाटा न्यूनीकरण गर्न ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने’ बजेट वक्तव्यको १९९ नम्बर बुँदा बदर गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा बजेटको सो बुँदा १९९ कार्यन्वयन नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश समेतको माग गरिएको छ । भविष्यमा चुरे क्षेत्रमा हुने चोरी–निकासी एवं गैरकानूनी ढंगले अनियन्त्रित दोहनलाई रोक्न प्रभावकारी उपाय अवलम्बन गर्नसमेत भनिएको छ ।

चुरे क्षेत्रको दिगो एवं वातावरणीय मैत्रीपूर्ण समग्र विकासलाई सुनिश्चित गर्न चुरे क्षेत्रको विकासका लागि एक शक्ति सम्पन्न संयन्त्र÷प्राधिकरण निर्माण गर्न माग गरिएको छ ।

रिटमा उनले चुरे क्षेत्रको वातावरण संरक्षणका साथै त्यस क्षेत्रको जैविक विविधता, प्राकृतिक सम्पदा, जल भण्डारण आदिको संरक्षणका लागि दीर्घकालीन बृहत कार्ययोजना निर्माणका लागि सरोकारवालासमेत रहेको विशेषज्ञहरुको समिति गठन गर्न माग गरिएको छ ।