लकडाउन उल्लङ्घन गरी ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न प्रशासनलाई गृहको पत्र



काठमाडौँ । लकडाउन उल्लघंन गरी डेटिङ जाने आयोजना प्रमुख कारवाहीमा पर्ने भएका छन् । गृह मन्त्रालयले प्रशासनलाई कारबाहीका लागि पत्र काटेको छ । मन्त्रालयले निशेषाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई कारबाहीका लागि पत्र पठाएको हो ।

आवश्यक कानुन बमोजिम कारबाही गरी सो को जानकारी मन्त्रालयलाई गराउन मन्त्रालयले पठाएको पत्रमा निर्देशन दिइएको छ । आइतबार बिहान सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुख रोशन श्रेष्ठ प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती बोकेर स्वयम्भू पुगेका थिए ।

स्वयम्भू डाँडामा अश्वभाविक गतिविधि गरीरहेको फोटो र भिडियो केही समाचारलगायत सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । सरकारी कर्मचारी, त्यसैमाथि पनि कार्यालय प्रमुखबाटै अमर्यादित क्रियाकलाप सार्वजनिक भए लगत्तै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज दाहालले कानुन उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुने जनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले गृहबाट पत्र प्राप्त भएको र आजै कार्यालयलाई के कसो भएको हो भनी पत्र पठाउने प्रशासनलाई बताए ।