जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लाग्यो



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । जसपाका राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका हुन् ।

यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुने बताइएको छ । बिहीबार भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुर पक्षलाई शहरी विकास मन्त्रालय, सँस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, श्रम रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र वन मन्त्रालय दिने बताएका थिए ।

यद्यपि, कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा भने कुरा मिलेको छैन । मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल हुँदैछ ।