नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई जेठ २७ गते



काठमाडौं । नागरिकता अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राखिएको छ । अब अर्को सुनुवाई जेठ २७ गते हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी जारी गरिएको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

रिटमा निवेदकले उक्त अध्यादेशअनुसार नागरिकता वितरण रोक्न माग गरेका छन् । नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा ७ वटा रिट निवेदन परेको छ ।

वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता कुलबहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीको तर्फबाट रिट परेको छ ।