प्रदेश–२ मा सत्ता सहकार्य गर्न उपेन्द्र यादवको काँग्रेसलाई प्रस्ताव



काठमाडौं । प्रदेस २ मा जसपा र कांग्रेसविच सत्तासाझेदारी हुने भएको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेश–२ मा सत्ता सहकार्य गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेका छन् । शुक्रबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर यादवले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् ।

यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले बताए । उनका अनुसार सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन यादवतर्फका १२ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रदेश–२ मा जसपाको यादव निकट लालबाबु राउत मुख्यमन्त्री छन् । तर अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेपछि जसपा विभाजन नजिक पुगेको छ । यसको असर प्रदेश–२ को सरकारमा पर्ने भएपछि यादवले कांग्रेसको समर्थन खोजेको हो ।