एमाले सुदूरपश्चिम संसदिय दलका नेता शाहलाई ओलीले मागे ४८ घण्टे स्पष्टीकरण



काठमाडौं । एमाले सुदुरपश्चिम संसदिय दलका नेता प्रकाश बहादुर शाहलाई स्पष्टीकरण सोधिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

उनलाई पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेको बारेमा स्पष्टीकरण सोधिएको छ । ओली पक्षका नेताहरु मात्र रहेको एमाले स्थायी कमिटीको १० जेठको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।

तर माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता लिएन । बरु सरकारमा भएका तीन मन्त्रीले राजीनामा दिएर चार मन्त्री र तीन राज्यमन्त्री बनेका छन् ।