सरकारी कम्पनीका खाद्यवस्तुमा आजदेखि २० प्रतिशत छुट



काठमाण्डौ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका सामग्री किन्दा आजदेखि २० प्रतिशत छुट पाइने भएको छ । निषेधाज्ञाभरि दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल तथा खाना पकाउने ग्यास खरिद गर्दा छुट उपलब्ध हुने छ ।

कर्पोरेशनले पिठो, चिनी, नुन, खाना पकाउने तेल तथा खाद्य कम्पनीले सात प्रकारको चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । खाद्य व्यवस्था कम्पनीले काठमाण्डौमा थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा रहेका बिक्री केन्द्रमा गएर छुटसहितको सामग्री किन्न सकिने बताएको छ ।

साल्ट ट्रेडिङले पनि बिक्री केन्द्रमै जानुपर्ने सूचना प्रकाशित गरेको छ । खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ दुवै कम्पनीका सामग्री खरिद गर्दा सम्पर्क नम्बरसहित परिचय खुल्ने कागजात देखाउनुपर्नेछ । अनलाइन डेलिभरी र घुम्ती भ्यानमार्फत बिक्री हुने खाद्यान्न सामग्रीमा भने छुट दिने विषयमा निर्णय नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताइएको थियो ।