युरोपियन युनियनले नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध लम्वियो



काठमाडौं । नेपाली वायुसेवामाथि युरोपियन युनियन (ईयू)को प्रतिबन्ध पुनः लम्बिएको छ । नेपाल पछिल्लो ८ वर्षदेखि लगातार ईयूको एयर सेफ्टी लिस्ट (कालोसूची)मा छ । युरोपेली युनियनले हरेक ६÷६ महिनामा सार्वजनिक गर्ने एयर सेफ्टी लिस्टमा नेपालमाथिको प्रतिबन्ध कायमै रहेको हो ।

यो सूचीमा रहेका वायुसेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली हवाई उद्योग सन् २०१३ देखि नै युरोपमा प्रतिबन्ध छ । ईयूले सार्वजनिक गरेको एयर सेफ्टी लिस्टमा नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स रहेका छन् ।

आन्तरिक एयर डाइनेस्टी, अल्टिच्यूड एयर, फिस्टेल एयर, समिट एयर, हेली एभरेष्ट, कैलाश हेली, मकालु एयर, मनाङ एयर, माउण्टेन हेली पनि युरोपमा प्रतिबन्धमा छन् । साथै सौर्य एयरलाइन्स, सिम्रिक एयर, सिम्रिक एयरलाइन्स (गुण), सीता एयर, तारा एयर र यति एयरलाइन्स प्रतिबन्धको सूचीमा छन् ।

ईयूले नेपालको संसदमा विचाराधीन नेपाल नागरिक उड्डयन प्राधिकरणको विभाजनसम्बन्धी विधेयक पारित भई कार्यान्वयन हुनुपर्ने बताइरहेको छ । ईयूले नेपाली वायुसेवामाथि प्रतिबन्ध लगाउँदा सबैभन्दा ठूलो मार नेपाल एयरलाइन्सलाई परेको छ । गन्तव्य विस्तार गर्न खोजेका अधिकांश विकसित मुलुकले ईयूको कालोसूचीलाई मुख्य मुद्दा बनाएर उडान अनुमति दिन आनाकानी गरिरहेका छन् ।