नदिजन्य पदार्थ निकासी गर्ने निर्णय सच्याउन केन्द्रलाई मुख्यमन्त्री राउतको आग्रह, आवश्यक निर्णय लिने चेतावनी



काठमाडौं । प्रदेस २ का मुख्यमन्त्री लालबाबु राउतले बजेट वक्तव्यलाई सच्याउन केन्द्र सरकारलाई आग्रह गरेका छन् । उनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णय फिर्ता लिन केन्द्र सरकारलाई आग्रह गरेका हुन् । अन्यथा चुरे संरक्षणका लागि आवश्यक निर्णय लिने उसको चेतावनी छ ।

केन्द्र सरकारले बजेट वक्तव्यमा वातावरणीय प्रभाव मुल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी ब्यापार घाटा न्यूनीकरण गर्ने बताएको छ । यो निर्णयले प्रदेश २ बाट देशकै अन्न भण्डारका रुपमा रहेको प्रदेश दुई मरुभूमिकरण बन्ने भन्दै उनले नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउनुपर्ने उनले वक्तव्यमा उल्लेख गरेका छन् ।

यसको चौतर्फी आलोचना भएपछि अर्थ मन्त्रालयले चुरे÷भावर÷शिवालिक र नदी प्रणाली बाहकका उपयुक्त क्षेत्र उत्खनन गर्ने नीतिगत दृष्टिकोण मात्र बजेटमा प्रस्तुत भएको स्पष्टीकरण दिएको छ ।

तर गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णय फिर्ता दबाव कायमै छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार वक्तव्य जारी गर्दै सरकारको घोषणालाई अदूरदर्शी निर्णय भनेका छन् ।