मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने



काठमाडौं । भर्खरै वितरण सुरु गरिएको मेलम्चीको पानी २ महिना बन्द हुने भएको छ । खानेपानी आयोजनाको सुरुङ परिक्षणका लागी पानी वितरण बन्द गर्न लागिएको हो ।

आगामी असार १ देखि मेलम्चीबाट करिब दुई महिना काठमाडौंमा पानी नआउने आयोजनाले जनाएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि –प्रोटोकल) पुरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएको भए त्यसको समान पनि गर्नेछन् ।

यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो ।

सुरुङमा कुनै समस्या नदेखिएमा १५ दिनमा भित्रको सुपरीवेक्षणको काम सकिने र त्यसपछि सुरुङमा पानी भर्न १५ दिन लाग्ने अनुमान छ । तर समस्या देखिएमा भने भित्र सुधारको काम गर्न थप समय पनि लाग्न सक्ने प्रवक्ता पन्तले जानकारी दिए ।