गाउँमा सङ्क्रमण फैलिएपछि जुम्लाको रावतबाडा एकसाता सिल



काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

उनका अनुुसार बाहिरबाट आएको कुनै पनि व्यक्ति गाउँमा प्रवेश पाउने छैन । रावतबाडा र खड्काबाडाबीच आवतजावत पनि बन्द गरिएको छ । यी दुबै जोडिएका गाउँ हुन् । गाउँमा कोरोना सङ्क्रमित बढ्न सक्ने भएकोले गाउँपालिकाले आइसोलेशन कक्ष थप गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए।

मङ्गलबार गाउँका २७ जनामा एन्टिजेन परिक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबैलाई गाउँपालिकाले बनाएको आइसोलेसन केन्द्रमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बुधबार गाउँका ५५ घरधुरीका १०९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको बताए । परीक्षण गरिएको स्वाबको नतिजा आइसकेको छैन ।

विगत एक सातादेखि गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँपालिकाको सक्रियतामा उच्च सतर्कता अपनाइएको हो । एकै पटक ठूलो सङ्ख्यामा कोरोना पुष्टि भएपछि गाउँमा जनस्वास्थ्य सेवा कार्यालयको टोली बोलाएर पिसिआरका लागि स्वाब सङ्कलन गरिएको हो ।

यसअघि रावतबाडा गाउँमा विवाहलगायतका सामूहिक गतिविधि तीव्र भएका थिए । काठमाडौँ, सुर्खेत र भोजपुरलगायतका जिल्लाबाट मान्छे भित्रिएका थिए । गाउँमा कोरोना लक्षणका बिरामी बढेपनि स्वास्थ्यकर्मी गाँउ पुगेका छन् ।