नेपालले बोलाएको बैठक अवैधानिक, सहभागी नहुन भन्दै सचेत गराइयो



काठमाडाैँ । नेकपा एमालेले अवैधानिक व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन सचेत गराएको छ । झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बोलाएको भनिएको बैठक अवैधानिक भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले प्रेस वक्तव्य जारी गर्दै अनधिकृत बैठकमा सहभागी नहुनका भनेका छन् । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु,’ वक्तव्यमा भनिएको छ । अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था रहेको भन्दै तामाङले त्यसविपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको उल्लेख गरेका छन् । तामाङले वक्तव्यमार्फत उक्त क्रियाकलापको निन्दा एवं भर्त्सना गरेका छन् ।

खनाल-नेपाल समूहले आज ११ बजेका लागि केन्द्रीय समितिको बैठक राखेको छ । बैठक भर्चुअल माध्यमबाट हुने बताइएको छ ।