१२ वर्षदेखि इजरायलमा शासन गरेका नेतन्याहूको नेतृत्व अन्त्य हुँदै



इजरायलका विपक्षी दलहरु गठबन्धन सरकार बनाउनका लागि सहमत भएका छन्। विपक्षी दलहरुबिच नयाँ सरकार बनाउने सम्बन्धमा सहमति भएसँगै प्रधानमन्त्रीका रुपमा बेन्जमिन नेतन्याहूको १२ वर्षे शासनकाल अन्त्य हुने भएको छ ।

मध्यमार्गी पार्टी यश अतित पार्टीका नेता यायर लेपिडले गठबन्धनको घोषणा गरेका हुन् । रोलक्रममा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति अनुसार पहिले दक्षिपन्थी पार्टीहरुको गठबन्धन यामिनाका नेता नाफ्ताली बेनेटको नेतृत्वमा सरकार गठन हुनेछ ।

त्यसपछि लेपिड प्रधानमन्त्री बन्ने छन् । गठबन्धनमा सहमति बने पनि नयाँ सरकारले शपथ लिनका लागि संसदमा मत लिनु पर्ने हुन्छ ।लेपिडले जारी गरेको वक्तव्यमा सहमतिबारे राष्ट्रपति रेउवेन रिभ्लिनलाई जानकारी गराएको उल्लेख गरेका छन् ।

नयाँ सरकारले सबै इजरायली नागरिकको हितमा काम गर्ने पनि उनले बताएका छन् । योसँगै नेतन्याहूको नेतृत्व इजरायलमा अन्त्य हुने सम्भावना बढेको छ । नेतन्याहू इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने व्यक्ति हुन् ।

उनी विगत १२ वर्षदेखि देशको प्रधानमन्त्री छन् । उनी सन् २००९ देखि प्रधानमन्त्री रहँदै आएका छन् ।