ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीति राष्ट्र र जनविरोधी : प्रचण्ड



काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निती तत्काल फिर्ता लिन माग गरेका छन् । अध्यक्ष दाहालले सामाजिक संजाललमा लेख्दै सरकारले नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने सरकारको नीति राष्ट्र र जनविरोधी निर्णय भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका हुन् ।

उनलेबजेटमार्फत ल्याएको यो नीति कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने योजनाको हिस्सा भएको समेत आरोप लगाएका छन् । दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् ।’

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम छ । सरकारको यो कार्यक्रमले चुरेको दोहन बढ्ने र तराई मधेशमा मरुभूमिकरण हुने भन्दै सर्वत्र आलोचना भइरहेको छ ।