‘एक्लै तिमी नआए प्रियसी म मातिएको बेला…..’



श्रुति काफ्ले, काठमाडौं। 

ब्याक ग्राउण्डमा स्वर सम्राटको गीत….
मलाई माफ गरिदेउ, मेरा लोभी नजर ।।
अनि मेरा अगाडी दुई प्याला, प्याला अनि बोटल

एक जसले मेरो मस्तिष्कको प्यास मेटाउँछ ।
अनि अर्को जसले मेरो मनको शान्ति भंग गराउँछ ।
जसले नै मेरो मन प्रफुल्ल बनाँउछ ।
अनि एकै घुट्कीले ब्रमाण्डै डुलाउँछ ।
जुनेली रातमा सुर्यको दर्शन गराँउछ ।
दानविय यो संसारमा अमृत पिलाउँछ ।

स्वर सम्राटको धुन अनि रक्सीको मातमा म ।।

म त्यही प्यालामा खुसीको पल मिसाँउछु ।
दुखका क्षण खनाँउछु ।
अतित बिर्सिन्छु, भविष्य कल्पन्छु ।
सुख र दुःखको कक्टेल नै रहेछ जिवन त ।
म त्यसैलाई पिलाउँछु ।
त्यही कक्टेलमा आईस मिलाउँछु ।
बेचैन मेरो जिवनलाई कुल बनाँउछु ।

अनि फेरी एकपटक सम्झनामा डुबेर
स्वर सम्राटको स्वरमा
स्वर सम्राटकै गीतमा
एक नाश गाँउछु ।

यो सम्झिने मन छ म विसुँ कसोरी
तिमी नै भनिदेउ ए जाने निश्ठुरी …

अनि रक्सी ह्वास्स गनाउँछ
मेरो पसिना जस्तै
सायद यो भन्दा नि धेरै

किनकी त्यसमा मेरो जहानको पनि पसिना मिसिएको छ ।
मेरो जहानको मिहेनत खटिएको छ ।
त्यसैले म घुट्कीमा होइन, थोपामै रमाउँछु ।
म प्यालासंग प्रित गाँस्न खोज्छु,
त्यसैसंग मायाँमा बाँधिन खोज्छु
तर फेरी डउाउँछु, अनि हिचकिचाउँछु
किनकी मलाई थाहा छ
मायाँको चोट कस्तो हुन्छ भनेर
अनि फेरी एकपटक,
रक्सीकै मातमा बर्बराउन थाल्छु
नसोध मलाई घाउ दुख्छ कहाँ भनेर ?…

राछ छिप्पिएको बेलामा म
होस हराएको बेलामा म

खेलौनाको दुनिँयामा बिलौना हुन्छु
ताराहरुको बिचमा अन्धकार बन्छु
शान्तिको बिच कोलाहल बन्छु
अनि समुन्द्रको एक थोपामै डुब्न पुग्छु
उनको हृदयको सेरोफेरोमा म पुग्न खोज्छु
तर कस्तो कन्ट्रयाडिक्सन यो,
चिप्लेर पातालमा खङ्ग्रयाङगै बजारिन्छु
जसरी मेरो जीवन हरेक दिन बजारिन्छ
जसरी मेरो जिवन हरेक पल बजारिन्छ

म आफ्नो भाग्यको कल्पना गर्छु
अतितको कल्पना गर्छु
यो पटक घुट्कीले पुगेन, बोटलनै रित्याइदिन्छु ।।

अन्र्तमस्तिष्कले आफैलाई सोध्छु ।
‘साला जड्याहा कति पिउछस् ?’
‘साला जड्याहा किन पिउँछस् ?’ भनेर

म वास्तविकता दबाउन पिउँछु

दुखमा रमाउन पिउँछु, हारमा जिउन पिउाछु
मायाँका पलहरु सजिव बनाउँन पिउँछु
अतित भुल्न पिँउछु, स्वर्ग देख्न पिउँछु
फ्रस्टेसन पिउँछु, डिप्रेसन पिउँछु
पोल्टीक्स पिउँछु, विज्ञान पिउँछु
पाएँ भने त मैले समुन्द्रनै पिउँछु
बाँचे भने त मैले ब्रमाण्डलाई नै घुट्कीमा निल्छु
अनि कल्पान्तको कल्पना गर्छु ।
कल्पनामै म पागल हुन्छु
त्यसैले त म दिनभर जिउँछु
अनि रातभर पिउँछु

अनि फेरी एकपटक, स्वर सम्राटकै तालमा, स्वर सम्राटकै स्वरमा
बर्बराउन थाल्छु अन्तिम पटकका लागि
गल्ती हजारौँ हुन्छन् यहाँ होस हराएका बेला
एक्लै तिमी नआए प्रियसी म मातिएको बेला …..
काफ्ले – कबाट कबिताकी स्रष्टा हुन ।