चन्द्रागिरीमा ढिस्कोले पुरेर २ जनाको मृत्यु, २ घाइते



काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत थानकोटले जानकारी दिए ।

मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ छन् ।

प्लटिङको जमिनमा ढुंगाको पर्खाल लगाउने क्रमममा बुधबार बिहान एक्कासी उनीहरुमाथि पर्खाल खसेको प्रहरीले जनाएको छ ।

माथिबाट खसेको पर्खालले थिचेर उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका–२ का १८ वर्षीय हरि घले घाइते भएका छन् । उनीहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।