ढुंगागिट्टीको निकासी खोल्ने सरकारको निर्णय नितीगत भ्रष्टाचार हो : गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले गिट्टी–बालुवा निकासी खोल्ने सरकारको निर्णयको विरोध गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले ’संसद् नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ’नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’कार्यक्रम घुसाएको’ भन्दै सरकारको यो कदमले आफ्नो असली असली अनुहार र घटिया सोच उजागर गरेको बताएका हुन् ।

उनले अगाडी लेखेका छन् ’वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ । उनले सरकारको यो निर्णयलाई नितीगत भ्रष्टाचारको संज्ञा दिएका छन् । साथै सरकारले आफ्ना ’यार’लाई पोस्नका लागि सरकारले नीतिगत भ्रष्टाचार गरेको पनि उनको आरोप छ ।

अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खबरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई जनप्रतिनिधिले प्रतिरोध गर्ने भन्दै सबैलाई यसको प्रतिरोध गर्न थापाले आह्वान गरेका छन् ।