उपत्यकामा जेठभर निषेधाज्ञा थप्‍ने तयारी, औपचारिक निर्णय आज हुँदै



काठमाण्डौ । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ। निषेधाज्ञा थप्नेबारे निर्णय लिन आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ।

बैठक बिहान १० बजेपछि भर्चुअल माध्यममार्फत बस्ने जनाइएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको हिजो बसेको बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकालेको र आज औपचारिक निर्णय गरी घोषणा गर्ने तयारी भएको हो । उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि भोली सकिन लागेकोले थप्न लागिएको हो।

यसअघि भन्दा केहि खुकुलो गरी उपत्यकामा जेठ महिनाभर निषेधाज्ञा लगाउने तयारी छ। खाद्यान्न तथा किराना पसल र डिपार्टमेन्टल स्टोरमा यसअघि भन्दा केहि खुकुलो गर्ने तयारी भएपनि यसअघि जस्तै बिहान ९ बजेसम्म मात्रै खोल्न दिनेबारे सीडीओहरूबीच छलफल भएको छ ।

यस विषयमा आज थप छलफल गरेर निर्णय लिने तयारी भएको छ ।