उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम सफा



काठमाण्डौ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश १ का केही ठाउँमा भने बादल लागेको र बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रका कारण प्रदेश १ का केही ठाउँमा बादल लागेको र स्थानीय वायुका कारण अरु केही ठाउँमा सामान्य बादल लागे पनि अहिले देशमा पानी पार्ने उल्लेख्य प्रणाली नरहेको महाशाखाले जनाएको छ ।

अझै केही दिन ठूलो पानी पार्ने खालको मौसमी प्रणाली आउने सम्भावना कम रहेको मौसमविद् शाक्यले बताउनुभयो । प्रदेश १ का केही ठाउँमा भने सामान्य पानी पर्ने देखिएको छ । प्रि–मनसुनको समय भएकोले दिउँसोपछि केही ठाउँमा बादल आएर सामान्य पानी पर्ने सम्भावना भने रहिरहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।