पार्टी एकताका लागि प्रयास जारी राख्ने एमाले स्थायी कमिटी बैठकको निर्णय



काठमाडौं । नेकपा एमाले पार्टी फुट्न नदिन अझै प्रयास गरिने भएको छ । नेकपा एमालेको ओली पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सोमबार साँझ मात्र अध्यक्ष ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल भएको थियो । तर औपचारिक वार्ता सुरु हुन सकेको छैन । प्रवक्ता ज्ञवालीका अनुसार जेठ २ मा बनेको कार्यदलका केही सदस्य कारबाहीमा परेकाले त्यो अतित्वमा छैन ।
यद्यपि अहिले पनि आफूहरुको प्रयास पार्टी एकता जोगाउने र धेरैभन्दा धेरै साथीहरु मुलधारमा राख्ने भएको उनले बताए ।