जसपा यादव पक्षले निकाल्यो ठाकुरसहित चार नेतालाई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको जनाएको छ ।

सोमबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए ।

तर तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ आएको थिएन । यसअघि जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको थियो ।

जेठ ८ गते बसेको कार्यकारिणी समितिका बैठकले सरकारमा सहभागी हुने नेता पार्टीबाट स्वतः निष्कासन हुने निर्णय पनि गरेको थियो । ठाकुर पक्ष सरकारमा जाने पक्का भइसकेको छ ।

प्रधानमन्त्री ओलीसँग भएको वार्ता अनुसार आठ मन्त्री र दुई राज्यमन्त्री दिने सहमति भएको छ ।