वरिष्ठ अर्थविद थापाको कोभिड–१९ संक्रमणका कारण निधन



काठमाडौं। वरिष्ठ अर्थविद डा. गोविन्दबहादुर थापाको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ ।

डा। थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान साढे ६ बजे निधन भएको हो ।

कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए ।

थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका थिए । थापाले लामो समयदेखि नेपाली अर्थतन्त्रबारे राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइन माध्यममा निरन्तर कलम चलाउँदै आएका थिए ।

कास्कीका स्थायी बासिन्दा उनी हाल राजधानीको बसुन्धरामा बस्दै आएका थिए । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।