यो वर्षको मनसुन खतरायुक्त रहेको प्राधिरणको चेतावनी, पूर्वतयारी थाल्न सुझाव



काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने चेतावनी दिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधिले धेरैलाई असर गर्न सक्ने भन्दै चेतावनी दिएका हुन् ।

उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपद्को घटना कहालीलाग्दो हुनसक्ने बताए ।

पोखरेलले बाढी, पहिरो, रोगव्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपद्बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए । जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । उनले हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक रहेको औँल्याए ।

उनले विपद्बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफूहरुले प्रेसित गर्ने सन्देशहरु निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे ।